दुध केवल एउटा खाद्य पदार्थ मात्र होइन। यो बालबालिकाको पोषण, किसानको आम्दानी र ग्रामीण अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण खाद्य वस्तु हो । यही कुरालाई विद्यालय तहदेखि नै स्थापित गर्ने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार संसारभर ‘विश्व स्कुल दुध दिवस’ मनाइन्छ ।
सन् २००० देखि सुरु भएको यो अन्तर्राष्ट्रिय दिवस संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठन(एफएओ)को पहलमा अघि बढाइएको हो ।
यसको मुख्य उद्देश्य विद्यालय दुध कार्यक्रमको महत्वलाई विश्वसामु उजागर गर्नु, बालबालिकाको पोषणमा दुधको भूमिकाबारे जनचेतना बढाउनु तथा विद्यालयमा दुध र दुग्धजन्य पदार्थको पहुँचलाई प्रोत्साहन गर्नु हो । यस वर्ष अर्थात् सन् २०२६ मा विश्व स्कुल दुध दिवस सेप्टेम्बर ३० तारिख परेको छ । नेपाली पात्रोअनुसार यो २०८३ साल असोज १४ गते बुधबार हो ।
विश्वका विभिन्न देशमा विद्यालय जाने उमेरका बालबालिकाको पोषण अवस्था एकनासको छैन। विशेषगरी विकासशील तथा न्यून आय भएका परिवारका बालबालिकाले आवश्यक पोषणयुक्त खाना पर्याप्त मात्रामा पाउन सक्ने अवस्था अझै पनि छैन । यस्तो अवस्थामा विद्यालयमार्फत पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउने अवधारणाले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
दुधमा शरीरलाई आवश्यक पर्ने प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२ लगायत विभिन्न पोषक तत्व पाइन्छन्। त्यसैले बालबालिकाको सन्तुलित आहारमा दुध तथा दुग्धजन्य पदार्थलाई समावेश गर्ने विषयमा जनचेतना बढाउन सकिने हुँदा यस दिवसले बालबालिकालाई नियमित रूपमा दुध सेवन गर्न प्रेरित गर्न सक्छ ।
यही आवश्यकतालाई ध्यानमा राख्दै (एफएओले सन् २००० देखि विश्व स्कुल दुध दिवस मनाउने पहल सुरु गरेको हो । यस दिवसको उद्देश्य एक दिन दुध पिउने कार्यक्रम सञ्चालन गर्नु मात्र नभई विद्यालयमा दुधको नियमित पहुँच र स्कुल मिल्क प्रोग्रामको महत्वबारे बहस तथा अभ्यासलाई अघि बढाउनु पनि हो ।
विश्व स्कुल दुध दिवसका लागि सेप्टेम्बर महिनाको अन्तिम बुधबार रोजिनुका पछाडि व्यावहारिक कारण छन् । विश्वका धेरै देशमा सेप्टेम्बर महिनामा नयाँ शैक्षिक वर्ष सुरु हुने वा विद्यालयहरू सञ्चालनमा रहने भएकाले विद्यालयमा आधारित कार्यक्रम सञ्चालन गर्न यो समय उपयुक्त मानिएको हो । अर्को कारण, बुधबार अधिकांश देशमा विद्यालय सञ्चालन हुने दिन भएकाले विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाको सहभागितामा कार्यक्रम गर्न सहज हुन्छ। त्यसैले हरेक वर्ष मिति परिवर्तन भए पनि यसको आधार एउटै रहन्छ । सेप्टेम्बर महिनाको अन्तिम बुधबार नै विश्वका धेरै देशमा यो दिवस मनाइन्छ ।
विश्व स्कुल दुध दिवस कुनै एउटा देश वा क्षेत्रको मात्र कार्यक्रम होइन । विश्वका विभिन्न देशमा आफ्नो आवश्यकता र परिस्थितिअनुसार विद्यालय दुधसम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आएका छन्। कतिपय देशमा विद्यार्थीलाई दुध वितरण गरिन्छ भने कतिपय ठाउँमा पोषणसम्बन्धी कक्षा, चित्रकला, निबन्ध तथा कविता प्रतियोगिता, खेलकुद, किसानसँग अन्तरक्रिया, डेरी उद्योगको भ्रमण तथा दुध उत्पादन र प्रशोधनसम्बन्धी जानकारी दिने कार्यक्रम सञ्चालन गरिन्छ ।
यसको स्वरूप देशअनुसार फरक भए पनि मूल सन्देश एउटै छ, बालबालिकाको स्वस्थ भविष्यका लागि पोषणयुक्त आहारमा ध्यान दिऔँ र विद्यालयमार्फत दुधको महत्व बुझाऔँ ।
नेपालको सन्दर्भमा विश्व स्कुल दुध दिवसको महत्व अझ व्यापक छ। नेपालमा लाखौँ किसान परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दुग्ध उत्पादनमा निर्भर छन्। किसानले उत्पादन गरेको दुध सङ्कलन केन्द्र, सहकारी, चिस्यान केन्द्र र डेरी उद्योग हुँदै अन्ततः उपभोक्ताको भान्सासम्म पुग्छ ।
यदि विद्यालयलाई पनि दुग्ध क्षेत्रको नियमित उपभोक्ता र बजारका रूपमा जोड्न सकियो भने यसले बालबालिकाको पोषणसँगै किसानको दुधको बजार विस्तार तथा दुग्ध उद्योगको दिगो विकासमा योगदान पु¥याउन सक्छ ।
यसलाई सरल रूपमा बुझ्दा किसानले उत्पादन गरेको दुध डेरी उद्योगमा प्रशोधन गरी सुरक्षित प्याकेजिङ गरिन्छ र विद्यालयका क्यान्टिनदेखि बजारसम्म पु¥याइन्छ। यसरी बालबालिका र विद्यार्थीको पोषणसँग जोडिएको एउटा व्यवस्थित चक्र निर्माण हुन्छ।
यसले बालबालिकालाई मात्र फाइदा पु¥याउँदैन। किसानको उत्पादनले बजार पाउँछ, स्थानीय डेरी उद्योगको क्षमता बढ्छ, रोजगारी सिर्जना हुन्छ र ग्रामीण अर्थतन्त्र चलायमान बन्न सक्छ। विद्यालय दुध कार्यक्रम एक दिनको अभियान मात्र होइन ।
विश्व स्कुल दुध दिवसलाई केवल एक दिन विद्यार्थीलाई दुध बाँडेर फोटो खिच्ने कार्यक्रमका रूपमा बुझ्नु हुँदैन । यसको वास्तविक महत्व विद्यालयमा नियमित र व्यवस्थित स्कुल मिल्क प्रोग्राम विकास गर्न सक्नुमा निहित छ। बालबालिकालाई दुध दिँदा त्यसको गुणस्तर, स्वच्छता, सुरक्षित प्रशोधन, उचित तापक्रममा भण्डारण र वितरणमा विशेष ध्यान दिनुपर्छ । साथै, दुध सेवनका फाइदा, सन्तुलित आहार तथा स्वस्थ जीवनशैलीबारे पनि विद्यार्थीलाई जानकारी दिनुपर्छ। यसरी हेर्दा विद्यालय दुध कार्यक्रम शिक्षा र पोषणलाई एकै ठाउँमा जोड्ने प्रभावकारी माध्यम बन्न सक्छ ।
विश्व स्कुल दुध दिवस तथा विद्यालय दुध कार्यक्रममार्फत धेरै सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। पहिलो, बालबालिका र अभिभावकमा दुध तथा दुग्धजन्य पदार्थको पोषणसम्बन्धी ज्ञान बढाउन सकिन्छ। दोस्रो, बालबालिकामा स्वस्थ खानपानको बानी विकास गर्न सहयोग पुग्छ।
तेस्रो, विद्यालय र परिवारबीच पोषणसम्बन्धी संवाद बढ्छ। चौथो, विद्यार्थीले दुध किसानको मेहनतबाट उत्पादन भई आफ्नो हातसम्म आइपुग्ने प्रक्रिया बुझ्न सक्छन्। पाँचौँ, स्थानीय किसानको दुधका लागि बजार विस्तार गर्न सहयोग पुग्न सक्छ। छैटौँ, स्थानीय डेरी उद्योगको उत्पादन र रोजगारीलाई प्रोत्साहन मिल्न सक्छ। यस अर्थमा विश्व स्कुल दुध दिवस बालबालिकासँग मात्र सम्बन्धित विषय होइन। यो बाल पोषण, शिक्षा, किसान, डेरी उद्योग र समग्र अर्थतन्त्रसँग जोडिएको विषय हो।
नेपालमा राष्ट्रिय विद्यालय दुध कार्यक्रमको आवश्यकता
नेपालमा विश्व स्कुल दुध दिवसलाई अझ प्रभावकारी बनाउने हो भने यस अवसरलाई एउटा महत्वपूर्ण राष्ट्रिय बहस सुरु गर्ने दिनका रूपमा लिन सकिन्छ। सरकार, स्थानीय तह, विद्यालय, किसान, दुग्ध सहकारी, डेरी उद्योग, पोषण विज्ञ, शिक्षक र अभिभावकबीच सहकार्य गरेर नेपालमा व्यवस्थित राष्ट्रिय विद्यालय दुध कार्यक्रम अघि बढाउन सकिन्छ।
सरकारले आवश्यक नीति तथा मापदण्ड बनाउने, स्थानीय तहले विद्यालयसँग समन्वय गर्ने, किसान तथा सहकारीले गुणस्तरीय दुध उत्पादन गर्ने, डेरी उद्योगले सुरक्षित रूपमा प्रशोधन तथा प्याकेजिङ गर्ने र विद्यालयले विद्यार्थीलाई नियमित रूपमा उपलब्ध गराउने व्यवस्था गर्न सकिन्छ। यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा गुणस्तर, सुरक्षा, पहुँच र निरन्तरता हो।
हरेक वर्षको दिवसलाई कसरी सार्थक बनाउने भन्ने विषयमा सरोकारवालाले सोच्नुपर्ने हुन्छ। सन् २०२६ को विश्व स्कुल दुध दिवसलाई नेपालमा केवल औपचारिक कार्यक्रमका रूपमा नभई व्यवहारिक अभियानका रूपमा अघि बढाउन सकिन्छ। विद्यालयमा दुध वितरणसँगै दुधको पोषणसम्बन्धी जानकारी दिने, किसानसँग विद्यार्थीको अन्तरक्रिया गराउने, डेरी उद्योगको भ्रमण गराउने, चित्रकला तथा निबन्ध प्रतियोगिता सञ्चालन गर्ने र अभिभावकलाई समेत सहभागी गराउने कार्यक्रम गर्न सकिन्छ।
सबैभन्दा महत्वपूर्ण कुरा, एक दिनको कार्यक्रमलाई वर्षभरि सञ्चालन हुने विद्यालय दुध अभियानमा रूपान्तरण गर्ने प्रयास हुनुपर्छ। विश्व स्कुल दुध दिवसको मूल सन्देशले हामीलाई एउटा सरल तर महत्वपूर्ण कुरा सम्झाउँछ, स्वस्थ बालबालिका नै स्वस्थ राष्ट्रका आधार हुन्।
बालबालिकाको स्वास्थ्य र पोषणमा आज गरिएको लगानीले भोलिको राष्ट्र निर्माणमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले विद्यालयमा दुधको पहुँच बढाउने विषयलाई केवल दुध बिक्री बढाउने विषयका रूपमा नभई बाल पोषण, किसानको सम्मान, स्थानीय उत्पादनको प्रवद्र्धन र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको विषयका रूपमा हेर्न आवश्यक छ। नेपालजस्तो कृषि र पशुपालनमा ठूलो सम्भावना भएको देशमा किसानले उत्पादन गरेको दुधलाई आफ्नै देशका बालबालिकाको पोषणसँग जोड्न सक्नु आफैंमा महत्वपूर्ण उपलब्धि हुनेछ। त्यसैले विश्व स्कुल दुध दिवसको अवसरमा दिइने सन्देश स्पष्ट हुन सक्छ।
सेप्टेम्बर ३० अर्थात् असोज १४ गते मनाइने यस वर्षको विश्व स्कुल दुध दिवसले नेपालमा पनि विद्यालय दुध कार्यक्रमलाई नयाँ ढंगले अघि बढाउने, किसान र डेरी उद्योगलाई थप जोड्ने तथा हरेक बालबालिकाको पोषणमा ध्यान दिने वातावरण निर्माण गर्न प्रेरणा प्रदान गरोस् ।
विश्व स्कुल दुध दिवस २०२६ को सबैमा हार्दिक शुभकामना !


प्रतिक्रिया दिनुहोस्