काठमाडौँ । अप्टिमिस्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको नयाँ नेतृत्व चयन भएको छ ।
आज भएको वार्षिक साधारण सभाबाट २०२६/२७ को कार्यकालका लागि माधव शिवाकोटीको नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो । यस्तै सचिवमा सरोज ओझा र कोषाध्यक्षमा दीपप्रसाद धमला रहेका छन् ।
क्लबको आवश्यकता र डिस्ट्रिक्टको निर्देशनअनुसार आगामी दिनमा विभिन्न समिति तथा थप पदाधिकारीहरू थप गरिने क्लबले जनाएको छ । कार्यक्रममा अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टका सचिव विजय सत्याल, एल.जी. प्रल्हाद दाहाल, एल.जी. शंकर राजबाहक, क्लबका बोर्ड सदस्यहरू तथा डेरी उद्योगीहरु एवं व्यवसायी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष तथा एल.जी. प्रल्हाद दाहालले स्वागत मन्तव्य व्यक्त गर्दै क्लबले स्थापना कालदेखि गर्दै आएका सामाजिक, सेवामूलक तथा डेरी उद्यमीहरूको क्षमता अभिवृद्धिसँग सम्बन्धित विभिन्न गतिविधिका बारेमा जानकारी गराए ।
उनले क्लबलाई आगामी दिनमा थप सक्रिय र प्रभावकारी रूपमा अघि बढाउन सबैको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
क्लबका सचिव सरोज ओझाले कार्यक्रम सञ्चालन गर्दै क्लबको वार्षिक गतिविधि तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि छलफलपछि साधारण सभाले क्लबका सम्पूर्ण प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेका थिए ।
कार्यक्रममा अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टका सचिव विजय सत्यालले अप्टिमिस्ट इन्टरनेसनलको उद्देश्य, संरचना तथा संस्थाले समाजमा पु¥याउँदै आएको योगदानका विषयमा आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्