काठमाडौं । दसैँको मुख्य दिनलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म फोहोर व्यवस्थापन प्रभावित हुने जनाएको छ। चाडपर्व मनाउन सफाइ कर्मचारी बिदामा जाने भएपछि उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो।
फोहोर व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै महानगरपालिकाले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सडक र सार्वजनिक स्थानमा नफाल्न आग्रह गरेको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याएर सुरक्षित रूपमा राख्न अनुरोध गरेकी छन्।
उनका अनुसार चाडपर्वका बेला फोहोर जथाभावी फाल्दा सडक तथा सार्वजनिक स्थानमा फोहोर थुप्रिने र वातावरणीय समस्या बढ्न सक्ने भएकाले नागरिकले आफ्नै घर वा कम्पाउन्डभित्र फोहोर व्यवस्थापन गर्नुपर्नेछ।
‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ राईले भनेकी छन्।
महानगरपालिकाका अनुसार कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापन नियमित रूपमा सञ्चालन हुनेछ।


प्रतिक्रिया दिनुहोस्