जनकपुरधाम । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराई–मधेसका बजारमा केराको किनबेच बढेको छ । छठ पर्वमा केरालाई महत्वपूर्ण प्रसादका रूपमा चढाउने परम्परा रहेकाले बजारमा यसको माग उच्च भएको हो ।
जनकपुर फलफूल व्यवसायी संघका अध्यक्ष विश्वेश्वर यादवका अनुसार यस वर्ष छठका लागि भारतबाट केरा आयात भएको छैन । कैलालीको टीकापुर, नवलपरासी, चितवन, हेटौँडा, निजगढ, बिर्तामोड, इनरुवा लगायतका क्षेत्रबाट आएको स्वदेशी केराले बजारको माग धानिरहेको छ ।
उनका अनुसार बजारमा मिर्चमान जातको केरा प्रतिघरी एक हजारदेखि १२ सय रुपैयाँ र गोपाल जातको केरा पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ । नेपालमा केराखेती विस्तार भइरहेकाले अभाव हुने अवस्था नरहेको र मूल्यमा थप वृद्धि नहुने उनले दाबी गरे ।
यद्यपि, उपभोक्ताले भने केराको मूल्य गत वर्षको तुलनामा महँगो भएको गुनासो गरेका छन् । भारतबाट केरा आयात हुँदा सस्तोमा उपलब्ध हुने गरेकोमा अहिले प्रतिघरी १२ सयदेखि १५ सय रुपैयाँसम्म मूल्य माग्ने गरिएको उनीहरूको भनाइ छ ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा केरासहित विभिन्न फलफूल चढाउने धार्मिक परम्परा छ । त्यसैले पर्व नजिकिएसँगै केराको माग बढेको छ । स्वदेशी उत्पादन पर्याप्त रहेको व्यवसायीको दाबी र महँगो मूल्यप्रति उपभोक्ताको असन्तुष्टिबीच बजारमा छठको किनमेल चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्