खस्कँदो लगानी, कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल लगानी २८.१ प्रतिशतमा सिमित


काठमाडौँ । नेपालको अर्थतन्त्रमा पुँजी निर्माण कमजोर रहेको देखिएको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालको आर्थिक स्थितीपत्रमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८.१ प्रतिशतमा सीमित रहेको छ।

आर्थिक वर्ष २०७४/७५ मा कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल लगानी ३९.५ प्रतिशत रहेको थियो ।

सरकारको कमजोर पुँजीगत खर्च र निजी क्षेत्रको लगानीमा आएको कमीले समग्र लगानीको स्थिति खस्केको जनाएको छ।

विगत एक दशकमा निजी क्षेत्रको लगानी कुल गार्हस्थ्य उत्पादनको औसत १९.६ प्रतिशत रहेकोमा कोभिड १९ महामारी पश्चात यसको अनुपात क्रमशः कम हुँदै आर्थिक वर्ष २०८१/८२ मा १४.७ प्रतिशत पुगेको छ।

लगानीमा आएको शिथिलताले दिगो, समावेशी र उच्च आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न कठिन हुने जनाइएको छ ।

व्यावसायिक वातावरण, सरकारको पुँजीगत खर्च क्षमता र समष्टिगत मागमा सुधार गरी लगानी बढाउन जरुरी रहेको उल्लेख गरिएको छ।

यस्तै, नेपालको कुल गार्हस्थ बचत न्यून रहेकोले बचत र लगानीको खाडल फराकिलो रहेको उल्लेख गरिएको छ।

विगत एक दशकमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल गार्हस्थ्य बचत वार्षिक औसत ८.५ प्रतिशत र कुल लगानी औसत ३३.९ प्रतिशत रही गार्हस्थ्य बचत लगानी अन्तर औसत २५.४ प्रतिशतले ऋणात्मक रहेको जनाइएको छ।

तर, विप्रेषण आय उल्लेख्य बढेको कारण कुल राष्ट्रिय बचत यस अवधिमा कुल गार्हस्थ उत्पादनको अनुपातमा औसत ३५.८ प्रतिशत रहेको र लगानीमा शिथिलता आएकोले समग्र लगानीभन्दा राष्ट्रिय बचत अधिक देखिएको हो।

अर्कोतर्फ, विगत दश वर्षमा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल उपभोग वार्षिक औसत ९१.५ प्रतिशत रहेको जनाइएको छ।

राष्ट्रिय बचतको सहज अवस्थाले लगानीको अवसर रहेपनि व्यावसायिक वातावरण सहज नभएकोले निजी क्षेत्रको उत्साह बढ्न नसकेको उल्लेख गरिएको छ।