काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ नेतृत्वका लागि चुनावी दौड सुरु भएको छ ।
आगामी जेठ २९ गते हुने साधारणसभाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत : अध्यक्ष बन्नेछन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलालले औपचारिक रूपमा उमेदवारी घोषणा गरिसकेका छन् । उपाध्यक्ष उत्तम भ्लोन लामा र भरतबहादुर खत्री, महासचिव बलराम खतिवडा तथा सचिव हिमप्रसाद पाठकसमेत वरिष्ठ उपाध्यक्षका आन्तरिक तयारी गरिरहेका छन् ।
यसअघि सर्वसम्मतिमा नेतृत्व चयन भए पनि यसपटक भने चुनाव हुने सम्भावना देखिएको छ । विभिन्न पदका आकाङ्क्षी धेरै देखिएपछि इप्पानको नेतृत्व चयन प्रक्रिया चुनावबाट टुङ्गिने देखिएको हो ।
आन्तरिक छलफल चलिरहेका बेला कोषाध्यक्ष नरेन्द्र वल्लभ पन्त दोहोरिने पक्षमा छन् । कार्यसमिति सदस्य सुमन जोशीले सचिवमा दाबी गरेका छन् भने टेकनाथ आचार्य र मिथुन पौडेलले महासचिवमा दाबी गरेका छन् ।
वर्तमान सचिव विक्रम विष्ट र कविता पोखरेल कँडेल उपाध्यक्ष पदका लागि छलफल चलाईरहेका छन् ।
शङ्कर वस्याल उपमहासचिव पदका आकाङ्क्षी देखिएका छन् ।
इप्पानको विधानअनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव एक, सचिव पाँच, कोषाध्यक्ष एक र सदस्य १० रहने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्