५ लाख रुपैयाँकै चेक बाउन्समा कसरी फसे अर्बपति व्यापारीको हैसियत बनाएका प्रकाश दुगड ?


काठमाडौं । दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगड ५ लाख ३७ हजार रुपैयाँको चेक बाउन्स भएको आरोपमा पक्राउ परे ।

पक्राउ पुर्जी जारी भएपछि दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेर कमलपोखरी वृत्तलाई बुझायो ।

पक्राउ परेपछि धेरैले प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको नातेदार वा आफन्त भएको आशंका पनि गरे । उनी मोतिलाल दुगड वा नेपालको प्रख्यात दुगड समूहसँग सम्बन्धित होइनन, तर ५ लाख रुपैयाँकै चेक बाउन्स गर्ने हैसियतका पनि होइनन् । त्यसैले दुगड पक्राउले व्यावसायिक क्षेत्रमा केही तरंग पनि देखिएको छ ।

को हुन् प्रकाश दुगड ?

भारतको कलकत्ताबाट झण्डै २ दशकअघि व्यवसायका लागि नेपाल छिरेका थिए दुगड । नेपालमा व्यवसायकै क्रममा त्रिपुरेश्वर-टेकुमा स्यानेटरीको पसल खोले ।

उनले भारतबाट बाथरुमका लागि आवश्यक फिटिङका सामान लिएर बिक्री गर्थे । लामो समयसम्म उनको हिन्दुस्तान वेयरको नेपालका लागि अधिकारिक डिलर थियो भने पछिल्लो समयमा कजरिया टाइल्सको डिलरसिप लिएका थिए ।

त्रिपुरेश्वरका घरधनी विष्णुमान श्रेष्ठले दुगडले दिएको ५ लाख  २६ हजारको चेक बाउन्स भएपछि उनीविरुद्ध १९ माघमा उजुरी दिए पनि त्यो फागुन ३ गते दर्ता भएको थियो । प्रहरीले उच्च अदालत पाटनकी न्यायाधीश रेखा थापा पाण्डेद्वारा जारी दुगड र सरिता प्रधान बिरूद्व पक्राउ पूर्जीका आधारमा पक्राउ गरेको हो ।

झण्डै दुई दशको संघर्षपछि होटलमा समेत हात हालेपछि उनको कारोबार उकालो लागेको थियो । कालिमाटीमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठको घर थियो । ठूलो ऋणमा डुबेका श्रेष्ठको रकम तिर्न नसकेपछि नेपाल चेम्बर अफ कमर्सले तत्कालीन मूल्यमा ५ करोड रुपैयाँमा सो घर  किन्यो ।

सोही घरमा नेपाल समाचारपत्र दैनिक केही समय भाडामा बसेको थियो । समाचारपत्रले पनि खर्च धान्न नसकेर आफ्नै भवन भीमसेनस्थानमा सर्‍यो ।

उक्त भवनलाई दुगडले भाडामा लिएर होटेल प्लाटिनम सञ्चालन गर्न थाले । नाम नखुलेका भारतीय साझेदारसमेत सोल्टी होटलको गेटैमा खोलिएको प्लाटिनमले सँगैको ग्रान्ड होटलको बिजनेससमेत तान्न थालेको थियो ।

होटलकै अण्डरग्राउण्डमा अवैध क्यासिनो चलाएको भन्दै केही समयअघि म्यानेजर महेश मल्ल, सहायक म्यानेजर कमलदेव चौधरीसहित ४ जना स्टाफ पक्राउ परेका थिए । त्यसयता नै दुगडमाथि प्रहरीले निगरानी राख्दै आएका थियो ।

नेपाल छिरेको करिब दुई दशकमा अर्बपति ब्यापारीको हैसियत बनाइसकेका दुगड तुलनात्मक रुपमा साथीभाइमाझ इमान्दार छबिका मानिन्थे । तर ५ लाख रुपैयाँको चेक बाउन्स कान्डमा फसेका छन् ।

बैंकिङ कसुरमा मुद्दामा पक्राउ पूर्जी जारी भएपछि दुगडलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त मालिगाउँलाई बुझाइएको कालिमाटी वृत्तले जनाएको छ । दुगडविरुद्ध मालिगाउँ वृत्तमा बैंकिङ कसुरमा उजुरी परेको थियो । उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।