साहस उर्जाको आइपीओ भर्ने आज अन्तिम दिन


काठमाडौं । साहस उर्जा लिमिटेडको आइपीओ भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ६ गते देखि सर्वसाधारणका निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज असोज १० गते अन्तिम दिन रहेको छ ।

सर्वसाधारण लगानीकर्ताले उक्त कम्पनीको आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले गत असोज ६ गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता सेयर निष्कासन गरेको छ। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ।

कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ।

Skip This