पुरानो मित्र व्यापारिक चासो कम


नेपालमा युरोपेली उत्पादनहरूको माग धेरै छैन । चिनियाँ र भारतीय सामानको तुलनामा युरोपको सामान महँगो हुने सोचका कारण युरोपियन देशको सामानहरू कम  मात्रामा खरिद बिक्री हुने गरेको हो ।

नेपाल र इटालीबिच सन् १९५९ अगस्ट ३१ मा कूटनीतिक सम्बन्ध स्थापना भयो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सारोगाह्रो पर्दा सहयोग गर्दै आइरहेको छ । 

नेपालको सांस्कृतिक, वास्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निमाण क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । आपसी सहयोगको आदानप्रदानसँगै दुई देशबिचको व्यापार पनि दिन प्रतिदिन बढ्दो देखिन्छ । इटालीसँग नेपालको व्यापारको ग्राफ बढ्दो छ तर आयातमा । 

नेपालले युरोपेली देश इटालीतर्फ आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब १४ करोड रूपैयाँ बराबरको निर्यात गरेको छ भने ३ अर्ब ७० करोड रूपैयाँ बराबरको आयात गरेको छ । नेपालले इटली पठाउनेमा कफी, चिया, मसला, छालाका सामान, काठका सामान, कागज तथा कागजका सामान, तरकारी, कपडा र फाइबर लगायतका वस्तु मुख्य छन् । 

इटालीबाट मासु, पशुजन्य उत्पादन, बिरुवाको अर्क, पिठो लगायतका वस्तु नेपाल आउँछ । प्रविधिसम्बन्धी सामानको आयात पनि बढ्दो छ । 

प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन गाह्रो छ

सञ्जय अग्रवाल
अध्यक्ष, नेपाल इटाली उद्योग वाणिज्य संघ

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन गाह्रो छ । त्यही अनुसार नाफा लैजानु पर्‍यो भने पनि गाह्रो छ । सरकारले यसमा रातो कार्पेट ओछ्याएर राष्ट्र बैंकमार्फत सहजीकरण गर्नुपर्ने हो, त्यसो हुन सकेको छैन । सबै प्रकृया पुरा गरेर कोही विजनेस हाउस/कर्पोरेट हाउसले पैसा ल्याउन चाहन्छन् भने उसलाई रोकतोक नहुनुपर्ने हो तर नेपालमा पैसा ल्याएर कसैले लगानी गर्छु भन्यो भने गाह्रो अवस्था छ ।

नेपाल र इटलीबिच व्यापारिक सम्बन्ध पनि संस्थागत रूपमा विकास हुँदैछ । सन् २०१४ मा स्थापना भएको नेपाल इटाली उद्योग वाणिज्य संघको भर्खरै सम्पन्न भएको नवौं वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । व्यावसायी सञ्जय अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । दुई देशबिचको व्यापारिक सम्बन्ध बढाउनको लागि स्थापना भएको यो संस्थाले प्रभावकारी काम नगरेको आरोप लाग्ने गरेको छ । 

संघका नवनिर्वाचित अध्यक्ष सञ्जय अग्रवाल विगतका कमिटीहरूले धेरै काम गर्न नसकेको स्वीकार गर्छन् । अग्रवाल भन्छन्,“अहिलेसम्म हामीले केही फरक गर्न सकेको छैन तर अब केही न केही क्रियाकलापहरू अगाडि बढ्छन् ।” 

नवनिर्वाचित कार्यसमितिले नेपाल र इटालीबिच व्यापार, लगानी, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने लक्ष्य लिएको छ । पहिलाको समितिले राम्रो काम नगरेको भन्ने आरोप लागेपछि सुरुमै विभिन्न लक्ष्य राखेको नवनिर्वाचित अध्यक्ष अग्रवालले बताए । 

“नेपाल इटाली चेम्बरे २०१४ सालमा दर्ता भए पनि विगतका कमिटीहरूले धेरै काम गर्न सकेका थिएनन् । यो पटकको कमिटीले केही नयाँ गरौँ भन्ने छ,” उनले भने, “हाम्रो मुख्य उद्देश्य नेपालमा पर्यटक र लगानी भित्र्याउने, नेपालको उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा कसरी पुर्‍याउने भन्ने हो । नेपालमा इटालियन पर्यटकहरू कसरी ल्याउन सकिन्छ, त्यो हेरेर पर्यटक भित्र्याउन पहल गर्छौँ ।” 

इटालीमा नेपाली दूतावास छैन भने नेपालमा पनि इटालीको दूतावास  छैन । नेपालको स्विट्जरल्याण्डमा रहेको नेपाली राजदूतावासले इटाली र नयाँ दिल्लीमा रहेको इटालीको राजदूतावासले नेपाल  हेर्दै आइरहेका छन् । नेपाल र इटाली दुवैले अवैतनिक महावाणिज्य दूतावास सञ्चालन गरेका छन् ।

नेपालमा युरोपेली उत्पादनहरूको माग धेरै छैन । चिनियाँ र भारतीय सामानको तुलनामा युरोपको सामान महँगो हुने सोचका कारण युरोपियन देशको सामानहरू कममात्रामा खरिद बिक्री हुने गरेको हो । यस्तो अवस्थामा पनि नेपालमा युरोपियन  “इटालियन ब्राण्डहरूले नेपालमा प्लाटफर्म पाएका छैनन् । उनीहरूलाई हाम्रो चेम्बर मार्फत राम्रो एजेन्ट फ्रेन्चाइजी डिलरहरू खोज्दै छौं किनभने इटालीमा खाने कुरादेखि फेसन, इलेक्ट्रोनिक्स, हार्डवेयर, अटोमोबाइलको एउटा ठुलो बजार हो,” उनले भने, “इटाली युरोपको एउटा हब हो । त्यहाँको ब्राण्डहरूलाई नेपालमा ल्याउनको लागि पनि राम्रो हुन्छ । नेपाल स्थानीय उत्पादनहरू पनि इटालीको बजारसम्म पुर्‍याउन पायो भने हाम्रो इटाली नेपाल चेम्बर खोलेको सार्थकता हुन्छ ।” 

नेपालमा युरोपियन सामानहरूको लागत बढी पर्ने कारण उत्पादन लागत, ढुवानी भाडा, श्रम लागत बढी पर्ने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । भारत र चीनमा धेरै उत्पादन हुने, श्रम सस्तो, लागत कम र नेपालीको खल्तीमा पनि पैसा कम भएका कारण चिनियाँ र भारतीय सामान नेपालमा बढी प्रयोग हुने अधिकारीले बताए ।

“भारतीय र चिनियाँ सामान प्रयोग गर्नुपर्ने हाम्रो बाध्यता हो । युरोपियन देशले प्रतिस्पर्धा गर्ने गरी उत्पादन गर्नुपर्‍यो । नेपालीले युरोपियन सामानको लागत तिर्न सम्भव हुनुपर्छ । यो छैन । चीनले कुन ठाउँको उपभोक्ताको क्रय शक्ति कस्तो छ ? उसको खल्तीमा कति पैसा छ ? कस्तो सामान खोज्छ भन्ने हेरेर सामान बनाउँछ,” उनले भने,“यो काम भारतले पनि गर्न लागेको छ । भारतसँग त भाषा पनि मिल्छ । मान्छेलाई सजिलो पनि महशुस हुन्छ । चिनियाँ र भारतीय सामान बढी हुने कारण भनेको छिमेकी देश पनि हो ।” 

नेपाल र इटालीबिचको व्यापार घाटा बढ्दो छ । आर्थिक वर्ष २०७६/७७ मा ७० करोड २२ लाख रूपैयाँ बराबरको निर्यात गर्दा ४ अर्ब १६ करोड बराबरको आयात गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा ८० करोड ५ लाख बराबरको निर्यात हुँदा २ अर्ब १५ करोड रूपैयाँ बराबरको आयात भएको थियो ।

नेपाल र इटलीबिच व्यापारघाटा कम गर्न नेपाली वस्तुको निकासी बढाउन पहल गर्ने अध्यक्ष अग्रवालले बताए । इटालीमा नेपाली दूतावास छैन भने नेपालमा पनि इटालीको दूतावास छैन । नेपालको स्विट्जरल्याण्डमा रहेको नेपाली राजदूतावासले इटाली र नयाँ दिल्लीमा रहेको इटालीको राजदूतावासले नेपाल हेर्दै आइरहेका छन् । नेपाल र इटाली दुवैले अवैतनिक महावाणिज्य दूतावास सञ्चालन गरेका छन् । सम्बन्धित देशमा दूतावास नहुँदा पनि व्यापार तथा अन्य क्षेत्रमा समस्या हुने गरेको छ । सिधै कुरा नपुग्ने भएको कारण समस्या हुने गरेको अग्रवालले बताए ।

कोरोनापछि नेपालमा इटालीबाट आउने पर्यटक संख्या केही बढेको देखिन्छ । सन् २०२३ अप्रिलमा इटालीबाट १ हजार ४३५ पर्यटक भित्रिएका छन् । सन् २०२२ अप्रिलमा ५०८ पर्यटकमात्र भित्रिएका थिए । नेपालमा पछिल्लो समय पर्यटकको आगमन बढ्दो अवस्थामा रहेको छ । सबैभन्दा धेरै पर्यटक भारत, अमेरिकका चीन लगायतका देशबाट आउने गरेका छन् । युरोपका अन्य देशबाट पनि पर्यटकको आगमन बढ्दो अवस्थामा रहेको छ । अग्रवालले इटालीबाट नेपाललाई नचिनेर हो वा के कारणले पर्यटक आइरहेको छैन भन्ने विचार गरिरहेको र त्यसको कारण पत्ता लगाएर अगाडि बढ्ने बताएका छन् । 

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी निर्माण, विद्युत, औद्योगिक, आवास तथा खाना, शिक्षा, वित्तीय तथा बिमा सेवा, मानव स्वास्थ्य तथा सामाजिक कार्य, सूचना तथा सञ्चार, ट्रन्सर्पोट तथा भण्डारण र अन्य क्षेत्रको लागि भित्रिने गर्छ । विभिन्न देशबाट नेपालमा वैदेशिक लगानी आइरहेको अवस्थामा इटालीबाट भने आएको छैन । इटालीबाट प्रत्यक्ष वैदेशिक लगानी ल्याउनको लागि पहल गर्ने संघका अध्यक्ष अग्रवालले बताएका छन् ।

(टक्सार म्यागजिन, २०८० जेठ अंक, पृष्ठ ४५ देखि ४६ सम्म)