काठमाडौँ । पाकिस्तानमा भारतविरुद्ध षड्यन्त्र गरिरहेका आतङ्ककारी समूहहरूलाई लक्षित गर्दै भारतले गरेको ‘अपरेशन सिन्दूर’ प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा आक्रमण गरिएको थियो। दिल्लीस्थित प्रधानमन्त्री निवासमा बनाइएको विशेष युद्ध कक्षबाट उनले सम्पूर्ण कारबाहीमा नजर राखेका थिए।
प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले आक्रमणबारे निरन्तर जानकारी गराइरहेका थिए। स्रोतका अनुसार अपरेशनको योजना गत मे १ तारिखमा तयार पारिएको थियो। भारतको गुप्तचर संस्था ‘रअ’ले पाकिस्तानमा रहेका २१ आतङ्कवादी लुकेका स्थानहरूको विवरण सरकारलाई उपलब्ध गराएको थियो जसमध्ये ९ स्थानलाई लक्ष्यका रूपमा छनोट गरिएको थियो।
योजना तय गरेपछि मे ७ तारिखलाई कारबाहीको दिनका रूपमा निश्चित गरिएको थियो। यस अवधिमा अपरेशनमा संलग्न उच्च सुरक्षा अधिकारीहरू चार दिनसम्म साउथ ब्लकभित्रै बसेर तयारीमा जुटेका थिए ।
मे ७ तारिख बिहान, अपरेशन सुरू भएसँगै भारतीय वायुसेनाका राफेल लडाकु विमानहरूले स्क्याल्प मिसाइलमार्फत लश्कर-ए-तैयबा, जैश-ए-मोहम्मद र हिजबुल मुजाहिदीनका आतङ्ककारी अड्डाहरूमा सटिक हमला गरेका थिए। तीव्र गडगडाहटसहित विस्फोट भएका स्थानहरूमा कैयौं फिट अग्लो ज्वालामुखी उठेको थियो। जम्मा २५ मिनेटभित्र ९ आतङ्कवादी लुकेका ठाउँहरू पूर्ण रूपमा ध्वस्त पारिएका थिए।
अपरेशन सफल भएको जानकारी प्रधानमन्त्रीलाई एनएसए डोभालले दिएका थिए भने भारतीय सेनाले करिब साढे ९ घण्टा पछि पत्रकार सम्मेलन गर्दै कारबाहीबारे विस्तृत जानकारी सार्वजनिक गरेको थियो।
यसअघि विदेशमन्त्री एस जयशंकरले संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरूसँग फोन संवाद गरी भारतको नियोजित कदमबारे जानकारी गराइसकेका थिए। कारबाहीपछि सुरक्षा परिषद्का अन्य ११ अस्थायी सदस्य राष्ट्रहरूलाई समेत सूचना दिइएको थियो।
प्रतिक्रिया दिनुहोस्