१२औं विश्व माटो दिवस ‘स्वस्थ माटो, स्वस्थ गाउँसहर’ नारासहित नेपालमा विविध कार्यक्रमसहित मनाइने


काठमाडौँ । दिगो माटो व्यवस्थापन र माटो उर्वराशक्ति संरक्षणबारे जनचेतना फैलाउने उद्देश्यसहित प्रत्येक वर्ष डिसेम्बर ५ मा मनाइने विश्व माटो दिवस यस वर्ष नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइने भएको छ।

खाद्य तथा कृषि संगठनको सिफारिसअनुसार संयुक्त राष्ट्रसंघले २०१३ देखि विश्व माटो दिवस मनाउन थालेको हो भने नेपालले सन् २०१४ मा काभ्रेपलाञ्चोकको पाँचखालबाट घुम्ती माटो परीक्षण प्रयोगशाला सञ्चालन गर्दै यस दिवस मनाउन सुरुवात गरेको थियो।

यस वर्ष ‘हेल्दी सोइल्स फर हेल्दी सिटिज्’ भन्ने अन्तर्राष्ट्रिय नारा तथा ‘स्वस्थ माटो, स्वस्थ गाउँसहर’ भन्ने नेपाली नारा तय गरिएको छ। कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, खाद्य तथा कृषि संगठन नेपाल, नेपाल माटो विज्ञान समाज र आडिइ नेपालले संयुक्त रूपमा डिसेम्बर २ देखि ५ सम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेका छन्।

सहरमा बढ्दै गएको माटो ढाकिने, औद्योगिकीकरण र फोहोर व्यवस्थापनका समस्याले माटो स्वास्थ्यमा पारेको असरबारे ध्यानाकर्षण गराउन पनि यस वर्षको नारा केन्द्रित गरिएको आयोजक संस्थाहरूले जनाएका छन्।

कार्यक्रमअन्तर्गत काभ्रेको मण्डनदेउपुरमा विद्यार्थी र किसानलाई माटो नमूना संकलन तालिम दिइएको छ भने त्यही स्थानमा माटो परीक्षण शिविर संचालन हुनेछ। कृषि सूचना तथा प्रशिक्षण केन्द्रको सहकार्यमा विज्ञ डा. चन्द्र प्रसाद रिसाल, डा. श्रीप्रसाद विष्ट र डा. मेनिला खरेल सहभागी रहने टिभी टक कार्यक्रम पनि प्रसारण गरिनेछ।

मुख्य समारोह भने मंसिर १९ मा राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, खुमलटारमा हुनेछ, जहाँ कार्यपत्र प्रस्तुतीकरण, ‘वेस्ट टु म्यानुअर’ विषयक छलफल, कृषक र पत्रकार सम्मान तथा अवकाशप्राप्त माटो विज्ञहरूलाई सम्मानसमेत गरिनेछ। प्रदेश र स्थानीय तहहरूलाई पनि दिवस मनाउन सक्रिय भूमिका निभाउन आग्रह गरिएको छ।

डिजिटल माटो नक्साले देखाएको तथ्यांकले नेपालमा माटो स्वास्थ्य गम्भीर चुनौतिमा रहेको पुष्टि गर्छ। परीक्षण गरिएका माटोमध्ये झण्डै ५४ प्रतिशत अम्लीय, २९ प्रतिशत तटस्थ र १७ प्रतिशत क्षारीय प्रकारका पाइएको छ। प्राङ्गारिक पदार्थको मात्रा पनि धेरै स्थानमा न्यून छ, जसमा तराई क्षेत्र सर्वाधिक प्रभावित देखिएको छ।

देशभरका माटोमा नाइट्रोजन, फस्फोरस, पोटास तथा सूक्ष्म पोषक तत्वहरूमा असन्तुलन देखिएको छ। पूर्वी क्षेत्रमा बोरोन र जिङ्क न्यून रहेको तथा तराईमा सल्फरको मात्रा कमी रहेको तथ्याङ्कले देखाएको छ। साथै, भूक्षयका कारण प्रत्येक वर्ष करिब १.७ मिलिमिटर सतहको माटो नष्ट भइरहेकाे छ।

माटो बिग्रने प्रमुख कारणमध्ये असन्तुलित रासायनिक मलको प्रयोग, पर्याप्त प्राङ्गारिक पदार्थको अभाव, बालीचक्र नअपनाउने प्रवृत्ति, अव्यवस्थित सघन खेती, बाली अवशेष व्यवस्थापनमा कमजोरी, प्रदूषण, भूक्षय र कृषि यन्त्रको अत्यधिक प्रयोग प्रमुख कारणका रूपमा देखिएका छन्।

यसका समाधानका लागि नियमित माटो परीक्षण, प्राङ्गारिक पदार्थको प्रयोग, वैज्ञानिक बालीचक्र, उपयुक्त बाली छनोट, भूक्षय नियन्त्रण प्रविधि अपनाउने तथा प्रदूषण नियन्त्रणजस्ता उपाय आवश्यक रहेको विज्ञहरूको सुझाव छ।

सरकारले पनि नीतिगत, संरचनागत र कार्यक्रमगत रूपमा माटो स्वास्थ्य संरक्षणका प्रयास अघि बढाइरहेको छ। राष्ट्रिय मल नीति २०५८, राष्ट्रिय कृषि नीति २०६१, डिजिटल माटो नक्सांकन अभियान, संघ–प्रदेश–स्थानीय तहमार्फत माटो परीक्षण तथा माटो स्वास्थ्य कार्ड वितरण लगायतका कार्यक्रमहरू सञ्चालनमा छन्।

कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले माटोलाई जीवित तथा संवेदनशील संसाधनका रूपमा हेर्नुपर्ने आवश्यकता औँल्याउँदै ग्रामीण क्षेत्रमा अत्यधिक रासायनिक मल–विषादीको प्रयोग र शहरी क्षेत्रमा प्लास्टिक तथा फोहोरको अव्यवस्थित व्यवस्थापनले माटो स्वास्थ्यमा गम्भीर चुनौती पैदा गरिरहेको बताए।

उनका अनुसार खेतीयोग्य गाउँको माटोजस्तै सहरको माटो पनि उत्तिकै महत्त्वपूर्ण भएकाले यसको संरक्षणमा सबै नागरिक, संस्थान र सरोकारवालाको साझा प्रतिबद्धता आवश्यक छ।