अमेरिकी दूतावासको चेतावनी: बी–१/बी–२ भिसाका लागि अन्तर्वार्ताअघि बन्ड नतिर्नुहोस्


काठमाडाैँ । अमेरिकी दूतावासले व्यवसाय तथा पर्यटन प्रयोजनका लागि आवेदन दिइने बी–१/बी–२ भिसासम्बन्धी सूचना जारी गरेको छ। दूतावासले भिसा आवेदकहरूलाई अन्तर्वार्ताअघि कुनै पनि प्रकारको भिसा बन्ड नतिर्न आग्रह गरेको छ।

दूतावासका अनुसार अन्तर्वार्ताअघि बन्ड तिर्दैमा भिसा स्वीकृत हुन्छ भन्ने कुनै पनि सुनिश्चितता हुँदैन। भिसा स्वीकृत हुने वा नहुने निर्णय अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले गर्ने स्पष्ट गरिएको छ।

“यदि आवेदकको भिसा स्वीकृत भयो भने मात्र अन्तर्वार्तापछि कन्सुलर अधिकृतले आधिकारिक वेबसाइटको प्रत्यक्ष लिङ्कसहित बन्ड कसरी तिर्ने भन्ने स्पष्ट निर्देशन दिनेछन्,”सूचनामा भनिएको छ । अन्तर्वार्ताअघि गरिने कुनै पनि भुक्तानी आधिकारिक मान्य नहुने र त्यस्तो भुक्तानी फिर्ता नहुने चेतावनी पनि दूतावासले दिएको छ।

अमेरिकी दूतावासले पछिल्लो समय भिसा बन्डको नाममा हुने ठगी र भ्रामक सूचनाबाट सतर्क रहन आवेदकहरूलाई आग्रह गर्दै आधिकारिक स्रोतबाट मात्र जानकारी लिन अनुरोध गरेको छ।