काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मुलुकको अर्थतन्त्रलाई परम्परागत ‘कूतखोर’ संरचनाबाट रोजगारी-केन्द्रित दिगो वृद्धितर्फ रूपान्तरण गर्न ११ बहुआयामिक अवसर पहिचान गरेका छन् ।
वाग्ले अर्थमन्त्री भएपछि जारी नेपालको वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) मा आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर पुऱ्याउने र अर्थतन्त्रको आकार १० खर्ब (१०० अर्ब डलर) मा विस्तार गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ ।
आर्थिक स्थितिपत्रमा २०८२ को ऐतिहासिक निर्वाचनबाट प्राप्त जनादेशलाई ‘विनाशकारी विनिर्माण’ मार्फत नवीन आर्थिक पथचित्र कोर्ने आधार मानेको छ, जसमा सुशासन र लगानीमैत्री वातावरणका लागि १५ वटा पुराना तथा बाधक ऐनहरू खारेजीको प्रक्रियालाई प्रमुख प्रस्थानविन्दुका रूपमा लिइएको छ ।
आगामी ७ वर्षभित्र औसत ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्दै अर्थतन्त्रलाई गुणात्मक रूपमा परिवर्तन गर्न केही ‘संवाहक क्षेत्र’ का रुपमा स्थितिपत्रमा पहिचान गरिएको छ । ती संवाहक क्षेत्रहरूलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गरिएको छ, जसले निजी लगानीलाई आकर्षित गर्ने र समग्र आर्थिक गतिविधिमा तीव्रता ल्याउने विश्वास गरिएको छ।
ऊर्जा क्षेत्रलाई पहिलो र निर्णायक संवाहकका रूपमा लिँदै सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ । यसमध्ये १३ हजार ५०० मेगावाट आन्तरिक खपत र १५ हजार मेगावाट निर्यात गर्ने रणनीति ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति २०८३’ मार्फत अघि सारिएको छ ।
दोस्रो संवाहकका रूपमा कृषिको आधुनिकीकरण र व्यावसायिक रूपान्तरणलाई लिइएको छ, जसले उद्योग र पर्यटनसँग दरिलो अन्तर-आबद्धता कायम गर्नेछ ।
तेस्रो संवाहक पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधारको विकास र हवाई आबद्धतामा सुधार गर्ने मानिएको छ । भैरहवा र पोखरा विमानस्थललाई पूर्ण क्षमतामा चलाउँदै नेपाललाई बाह्रै महिना घुम्न मिल्ने आकर्षक गन्तव्य बनाउने र पर्यटनलाई रोजगारीको मुख्य आधार बनाउने रणनीति यसमा छ ।
सूचना प्रविधि र डिजिटल अर्थतन्त्रलाई चौथो संवाहकका रूपमा व्याख्या गरिएको छ ।
यान्त्रिक बौद्धिकताको उपयोग र डिजिटल नेपाल परियोजनालाई पुनर्जीवन दिँदै ९ करोड डलरको लगानीमा सरकारी सेवालाई कागजविहीन (पेपरलेस) र नगदविहीन (क्यासलेस) बनाइने आर्थिक स्थितिपत्रमा उल्लेख छ ।
पाँचौं संवाहकका रूपमा वन र खनिज स्रोतको व्यावसायिक उपयोगलाई राखिएको छ ।
मुलुकको ४६ प्रतिशत भू-भाग ओगटेको वन र फलाम तथा चुनढुङ्गा खानीको दिगो उत्खनन् गरी काठ आयात प्रतिस्थापन गर्ने र खनिजमा आधारित उद्योगहरू सञ्चालन गर्ने लक्ष्यले नेपाललाई आर्थिक रूपमा स्वावलम्बी बनाउन मद्दत गर्ने विश्लेषण श्वेतपत्रले गरेको छ ।
मुलुकको आर्थिक रूपान्तरणका लागि श्वेतपत्रले औंल्याएको पहिलो र प्रमुख अवसर स्थिर सरकारको जगमा सुशासन कायम गर्दै निजी क्षेत्रको विश्वास पुनर्स्थपना गर्नु हो ।
दोस्रो अवसरका रूपमा जलविद्युतको विशाल सम्भावनालाई सस्तो र भरपर्दो ऊर्जाका रूपमा उपयोग गर्दै औद्योगिकीकरण र क्षेत्रीय निर्यात (भारत र बंगलादेश) मार्फत स्थिर वैदेशिक आम्दानी सुनिश्चित गर्नु रहेको ठहर गरिएको छ ।
त्यसैगरी, उच्च मूल्यमा आधारित पर्यटन विकासलाई तेस्रो अवसरका रूपमा लिइएको छ, जसले नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गरी ग्रामीण क्षेत्रमा रोजगारी र आयका अवसरहरू सिर्जना गर्नेछ ।
चौथो अवसर डिजिटल अर्थतन्त्र र नवप्रवर्तनमा निहित छ, जहाँ यान्त्रिक बौद्धिकता (एआई), रोबोटिक्स र डिजिटल प्रविधिको विस्तारमार्फत सेवा क्षेत्रको उत्पादकत्वमा गुणात्मक वृद्धि ल्याउने लक्ष्य राखिएको छ ।
आर्थिक रूपान्तरणका अन्य अवसरहरूमा कृषिको आधुनिकीकरण र व्यावसायिक रूपान्तरणलाई पहिचान गरिएको छ, जसले उच्च मूल्यका बाली र कृषि प्रशोधन उद्योगमा लगानी आकर्षित गरी आयात प्रतिस्थापन र निर्यात विस्तारमा टेवा पुऱ्याउनेछ ।
छैटौं अवसरका रूपमा निर्यातमुखी औद्योगिकीकरणलाई लिइएको छ, जहाँ औद्योगिक क्लस्टर र विशेष आर्थिक क्षेत्र (सेज) मार्फत उत्पादन लागत घटाई प्रतिस्पर्धी क्षमता बढाइनेछ ।
व्यवस्थित सहरीकरण र पूर्वाधार विकासले लगानी आकर्षण र नयाँ रोजगारी सिर्जना गर्ने सातौं अवसर मानिएको छ भने वैदेशिक रोजगारीबाट फर्केका युवाको सीप र पुँजीलाई स्टार्टअपमा जोडेर विप्रेषणलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्नु आठौं अवसरका रुपमा पहिचान गरिएको छ ।
वित्तीय क्षेत्रको सुदृढीकरण र डिजिटल वित्तीय समावेशीकरण नवौं अवसरका रूपमा रहेका छन्, जसले बचतलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग गर्नेछन् ।
दशौं अवसरमा खनिज, वन र जडिबुटी जस्ता प्राकृतिक स्रोतको वैज्ञानिक उपयोगमार्फत आय र रोजगारी बढाउने लक्ष्य छ भने एघारौं अवसरका रूपमा सार्वजनिक वित्त व्यवस्थापनमा सुधार र सङ्घीय संरचनाको प्रभावकारी कार्यान्वयनबाट विकास परिणाम सुनिश्चित गर्ने संस्थागत सुदृढीकरणलाई लिइएको छ ।
आर्थिक स्थितिपत्रको पूर्णपाठ


प्रतिक्रिया दिनुहोस्