काठमाडौँ। अमेरिकामा कार्यरत नेपाली मनोचिकित्सक डा. प्रबेशमान सिंह बस्नेत (MD) यस वर्षको प्रतिष्ठित ‘एक्सिम्पलरी साइकियाट्रिस्ट अवार्ड २०२६’ बाट सम्मानित भएका छन्।
मानसिक स्वास्थ्यको क्षेत्रमा अमेरिकाकै सबैभन्दा ठूलो र प्रतिष्ठित सञ्जाल ‘नेसनल एलायन्स अन मेन्टल इलनेस’ (नामी) ले प्रदान गर्ने यस राष्ट्रिय स्तरको अवार्डका लागि यस वर्ष अमेरिकाभरिबाट छानिएका उत्कृष्ट १३ मनोरोग चिकित्सकहरूमध्ये डा. बस्नेत पर्न सफल भएका हुन्।
अमेरिकाको ‘एट्रियम हेल्थ’ सँग आबद्ध रही चिकित्सा सेवा प्रदान गर्दै आएका डा. बस्नेतलाई मानसिक रोगबाट प्रभावित बिरामी तथा उनीहरूका परिवारको उपचार एवं जीवनस्तर उत्थानमा पुर्याएको उत्कृष्ट क्लिनिकल योगदान, सामाजिक सचेतना एवं निरन्तर पैरवीका लागि यो सम्मान प्रदान गरिएको हो।
यो पुरस्कार गत मे १६, २०२६ मा औपचारिक रूपमा घोषणा गरी प्रदान गरिएको थियो। बिरामी र उनीहरूका परिवार स्वयंको सिफारिस र मूल्यांकनका आधारमा प्रदान गरिने भएकाले यस अवार्डलाई अमेरिकी मनोरोग चिकित्सा क्षेत्रमा उच्च सम्मान र प्रतिष्ठाको प्रतीक मानिन्छ।
सन् १९९० मा स्थापना भएको ‘नेसनल एलायन्स अन मेन्टल इलनेस’अमेरिकामा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत ठूलो गैर-नाफामूलक नागरिक संस्था हो। यस संस्थाले मानसिक स्वास्थ्य अवस्थासँग जुधिरहेका नागरिक तथा उनीहरूका परिवारका लागि निःशुल्क शिक्षा, सहयोग समूह सञ्चालन तथा चौबीसै घण्टा हेल्पलाइन सेवा प्रदान गर्दै नीतिगत सुधारका लागि पैरवी गर्दै आएको छ।

यस संस्थाले क्लिनिकल उपचारमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै मानसिक स्वास्थ्यका क्षेत्रमा व्याप्त सामाजिक विभेद विरुद्ध ‘थप एक कदम अघि बढेर वकालत गर्ने’ चिकित्सकहरूलाई वर्षेनी यो पुरस्कार प्रदान गर्दछ।



प्रतिक्रिया दिनुहोस्