गोरखा मनकामना – बादलमाथिको आस्था (तस्बिरहरू)


काठमाडाैँ । त्रिशूली र मस्र्याङ्दीको संगममाथिको कुहिरो छिचोल्दै जब केबलकारको डब्बा पहाडको टुप्पोतिर उक्लिन्छ, मनमा एउटा अलग्गै शान्ति र कौतूहल जाग्दछ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध मनकामना माईको मन्दिर केवल इँटा र काठको संरचना मात्र होइन, यो पुस्तादेखि पुस्तासम्म फैलिएको विश्वास, संस्कार, र आत्मीयताको जीवन्त संगम हो । बिहानीको चिसो सिरेटो र सेतो कुहिरोको घुम्टो ओढेको पहाडबिचबाट मनकामनाको यात्रा शुरु हुन्छ ।

आकाशमा झुण्न्स्टिेसनमा ओर्लिएपछि रातो सारीमा सजिएका आमा र ढाका टोपी लगाएका बुबादेखि तन्नेरी पुस्तासम्म सबैको अनुहारमा एउटै भाव झल्किन्छ । दर्शनको हतार र मनको पवित्रता।

जुत्ता–चप्पल फुकालेर खाली खुट्टा चिसो ढुङ्गामा पाइला राख्नासाथ तीर्थयात्राको वास्तविक अनुभूति शुरु हुन्छ । जुत्तासँगै संसारको थकान बाहिरै फुकालेर जब खाली खुट्टा ढुङ्गे बाटोमा टेक्न पुगिन्छ, मन स्वतः हलुका हुँदोरहेछ । मन्दिर पुग्नुअघिको सानो पहाडी बजार आफैँमा एउटा रङ्गिन उत्सव जस्तो लाग्छ ।

बाटोको दायाँबायाँ झुण्डिएका सयपत्रीका माला, झिलिमिली बत्ती र रातो–पहेँलो कपडाले ढाकिएका पूजाका डालीहरूले यात्रीलाई स्वागत गर्छन् । बजारको उकालो सकिएर जब फराकिलो आँगन खुल्छ, आँखाअगाडि मनकामना भगवतीको चारतले भव्य प्यागोडा शैलीको मन्दिर उभिएको देखिन्छ । बादल र कुहिरोले ढाकेको आकाशमुनि मन्दिरको सुनौलो छाना र माथिबाट झरेको धातुको पताका अद्भुत चमकका साथ टल्कन्छ ।

मन्दिरको आँगनमा एकातिर शताब्दीऔँ पुरानो विशाल पीपल–वरको वृक्ष छ भने अर्कोतिर कुँदिएका कालो काठका थाम, झ्याल र दलिनहरूले नेपाली काष्ठकलाको गौरवपूर्ण इतिहास बोल्छन्।

प्रवेशद्वारमा पहरा दिएर बसेका ढुङ्गे सिंह र सूर्य–चन्द्र अंकित पताकाहरू छिचोल्दै भक्तजनहरू घण्ट बजाएर परिक्रमा गर्छन् । कुहिरो जति नै बाक्लो भएपनि मन्दिरको सुनौलो छाना र माईको आँगनमा जम्मा भएको आस्थाको उज्यालो कहिल्यै धुमिलिँदैन । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल