शिक्षण प्रणालीमा ‘डर’ होइन ‘सहजता’


काठमाडौँ । बिहान ८ बजे अफिस पुग्नुपर्ने अभिभावक, १० बजे मात्र सुरु हुने स्कुल, बेलुका घर फर्किँदा बच्चा लिन कोही नभएको अवस्था काठमाडौंका कामकाजी परिवारका लागि यो दैनिक जीवनकै एउटा सामान्य समस्या बनेको छ ।

त्यसमाथि, बच्चाले स्कुलमा खाना खायो कि खाएन, क्यान्टिनको गुणस्तर कस्तो छ, भोलिका लागि चाहिने सामग्री के–के छन् यी सबै प्रश्नले अभिभावक र बालबालिकाबिच सानो–सानो तनाव पनि सिर्जना गरिरहेका हुन्छन् ।

यिनै यथार्थ समस्यालाई नजिकबाट देखेपछि काव्य स्कुल स्थापना गर्ने सोच जन्मिएको विद्यालयका संस्थापक निर्देशक (प्रधानध्यापक) नवराज बास्कोटा बताउँछन् ।

“स्कुल चलाउँदा हामीले देख्यौं-अभिभावकको समस्या स्कुलले बुझिरहेको छैन,” उनी भन्छन्, “त्यही भएर हामीले सोध्यौँ किन यस्तो स्कुल नबनाउने, जसले अभिभावकको आवश्यकता नै सम्बोधन गर्छ ?”

अभिभावकको वास्तविकताबाट जन्मिएको अवधारणा

काठमाडौँमा एकल परिवारको सङ्ख्या बढ्दै जाँदा दुवै अभिभावक कामकाजी हुने प्रवृत्ति पनि बढेको छ । यसले बालबालिकाको हेरचाह र समय व्यवस्थापनमा नयाँ चुनौती ल्याएको छ ।

बास्कोटाका अनुसार, धेरै अभिभावकले स्कुलको समय र आफ्नो अफिस समय नमिल्दा समस्या झेलिरहेका थिए ।

“कसैले भन्थे-स्कुल अलि चाँडो सुरु भए हुन्थ्यो, कसैले भन्थे-अलि ढिलोसम्म राखिदिए हुन्थ्यो,” उनी सम्झिन्छन्, “बच्चालाई घरमा रिसिभ गर्ने मान्छे नै हुँदैन भन्ने गुनासो धेरै थियो । ”

त्यससँगै, स्कुलमा दिइने खानाको गुणस्तर र बच्चाले वास्तवमै खाए–नखाएको विषय पनि अभिभावकका लागि चिन्ताको विषय थियो ।

विद्यालयले अर्को एउटा रोचक तर महत्वपूर्ण पक्ष पनि पहिचान गर्याे भने स्कुल र घरबिचको समन्वय अभावले सिर्जना हुने तनाव ।

डायरीमा लेखेर पठाइने ‘भोलिका लागि चाहिने सामग्री’ अभिभावकले बेलुका मात्र थाहा पाउने, तर त्यतिबेला पसल बन्द भइसकेको हुने अवस्था सामान्य थियो । “भोलि सामान नल्याएर बच्चा स्कुल जान्छ, अनि घरमा आमाबुबासँग सानो झगडा हुन्छ,” बास्कोटा भन्छन्, “हामीले यसलाई ‘ममी र म्यामको द्वन्द’ जस्तो देख्यौँ स्कुलले भनेको ठिक, तर अभिभावकको परिस्थिति पनि वास्तविक ।”

यही अवस्थालाई समाधान गर्ने उद्देश्यले काव्या स्कुलले आफ्नो व्यवस्थापन र प्रणालीलाई फरक ढङ्गले डिजाइन गरेको हो ।

विश्वका स्कुलबाट सिकेर स्थानीय समाधान

विद्यालय स्थापना अघि नवराज बास्कोटाले अमेरिका, युरोप, जापान र मध्यपूर्वका विभिन्न विद्यालय अवलोकन गरेका थिए । त्यहाँको अनुभवले उनलाई एउटा कुरा स्पष्ट गरायो भने नेपालमा समस्या स्रोतको अभाव होइन, व्यवस्थापन र शिक्षण पद्धतिमा सुधारको आवश्यकता हो ।

काठमाडौँमा एकल परिवारको सङ्ख्या बढ्दै जाँदा दुवै अभिभावक कामकाजी हुने प्रवृत्ति पनि बढेको छ । यसले बालबालिकाको हेरचाह र समय व्यवस्थापनमा नयाँ चुनौती ल्याएको छ । धेरै अभिभावकले स्कुलको समय र आफ्नो अफिस समय नमिल्दा समस्या झेलिरहेका थिए ।

“हामीसँग करिकुलम छ, शिक्षक छन्, विद्यार्थी छन्, अभिभावक लगानी गर्न तयार छन्,” उनी भन्छन्, “हामीले केवल क्लासरुम टिचिङ र व्यवस्थापन सुधार्नुपर्छ । ”

डर होइन, सहजता
काव्या स्कुलले शिक्षण प्रणालीमा ‘डर’ लाई हटाएर ‘सहजता’ ल्याउने प्रयास गरेको छ । सानो कक्षा आकार, शिक्षकसँग नजिकको सम्बन्ध र खुला संवाद नै मुख्य विशेषता हुन् ।

“बच्चा डरले होइन, सहज भएर सिक्नुपर्छ,” बास्कोटा भन्छन्, “शिक्षकसँग कम्फर्ट भयो भने सिकाइ स्वतः राम्रो हुन्छ ।”

पाठ्यपुस्तकभन्दा बाहिरको सिकाइ

विद्यालयले परम्परागत टेक्स्टबुक केन्द्रित शिक्षणभन्दा बाहिर गएर प्रोजेक्ट–आधारित र नेतृत्व विकासमा केन्द्रित शिक्षण अपनाएको छ ।

करिब १७ वर्षअघि सुरु गरिएको ‘थिमेटिक इन्टिग्रेटेड टिचिङ’ अहिले नेपालमै विस्तार हुँदै गएको छ ।

“हामीले सुरु गर्दा यो नयाँ थियो, अहिले सरकारले पनि यस्तै करिकुलम ल्याएको छ,” उनी भन्छन्, “यसले सिकाइलाई व्यवहारिक बनाउँछ ।”

काव्य स्कुलले १७ वर्षको यात्रा पार गरिसकेको छ तर यसको मूल उद्देश्य अझै उही छ-अभिभावक र बालबालिकाको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने ।

विद्यालयका अनुसार, शिक्षालाई केवल कक्षाकोठामा सीमित नगरी परिवार, समय र जीवनशैलीसँग जोडेर हेर्नु नै यसको मुख्य विशेषता हो ।

काव्य स्कुल केवल एउटा विद्यालय होइन, सहरी जीवनशैलीका चुनौतीलाई बुझेर तयार गरिएको एउटा वैकल्पिक शिक्षण मोडलका रूपमा प्रस्तुत भएको छ । जहाँ बच्चा मात्र होइन, अभिभावक पनि केन्द्रमा छन् ।