‘बुक बिल्डिङ’ प्रणाली कार्यान्वयनमा, सर्वोत्तम सिमेन्टले पायो पहिलो अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई ‘बुक बिल्डिङ’ बिधिबाट सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।

बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीलाई ‘बुक बिल्डिङ’ प्रणाली मार्फत आइपीओ जारी गर्न अनुमति दिएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए ।

योसँगै सर्वोत्तम सिमेन्ट ‘बुक बिल्डिङ’ प्रणाली मार्फत आइपीओ निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ ।

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुने सेयरको ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर निष्काशन गर्ने छ भने बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि दोस्रो चरणमा निष्काशन गर्ने बोर्डका प्रवक्ता श्रेष्ठले बताए ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यअनुसार आधार मूल्यमा २० प्रतिशत थप गरी हुने माथिल्लो सीमा ७५१.५० रुपैयाँ र तल्लो सीमा ५०१ रुपैयाँ हुनेगरी धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

बोर्डले कम्पनीको आधारमूल्य ५०१ रुपैयाँ तय गरेर निष्कासनको अनुमति दिएको छ । “अब बिक्री मूल्यमा तल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म माथि जानसक्ने गरी ४०१ रुपैयाँ र माथिल्लो सीमा आधार मूल्यबाट २० प्रतिशतसम्म कम हुनेगरी ४०१ रुपैयाँभित्र योग्य संस्थागत लगानीकर्ताले उक्त आईपीओमा आवेदन दिन सक्नेछन्,” श्रेष्ठले भने ।

सर्वोत्तमले ‘बुक बिल्डिङ’ विधिमार्फत् आइपीओ निष्कासन गर्न २०७९ असार २८ गते बोर्डमा निवेदन दिएको थियो ।
उक्त आइपीओ निष्काशन बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

धितोपत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा रहेको ‘बुक बिल्डिङ’ विधि नेपालमा पनि प्रचलनमा ल्याइएको हो ।

वास्तविक क्षेत्रका कम्पनीलाई सेयर बजारमा भित्र्याउने उद्देश्यले बुक बिल्डिङ प्रणालीलाई कार्यान्वयनमा ल्याइएको बोर्डका अधिकारी बताउँछन् ।

यो विधि लागू भएपछि पुँजी बजारको दायरा फराकिलो हुनुका साथै उत्पादनमूलक/वास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनीलाई वास्तविक मूल्यमा साधारण सेयर (आईपीओ) जारी गर्न सहयोग पुग्ने उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भने, “यो व्यवस्था आएसँगै पुँजी बजारमा वित्तीय क्षेत्रको बाहुल्यता कम हुँदै वास्तविक क्षेत्रका कम्पनीलाई आकर्षण गराउने अपेक्षा गरिएको छ ।”

बुक बिल्डिङ विधिमा कम्पनीले सार्वजनिक निष्कासन गर्न चाहेको कुल धितोपत्रमध्ये केही कित्ताको सीमित लिलामी गरिन्छ । यस्तो लिलामबाट निर्धारित प्रिमियमको आधारमा बाँकी धितोपत्रको सार्वजनिक निष्कासन गरिन्छ ।

यस विधिमा कम्पनीले नै ‘प्राइस रेञ्ज’ दिई आधारभूत विश्लेषणका आधारमा बढाबढ (बिडिङ) गरिन्छ ।

मूल्य निर्धारण गर्ने विधिका रूपमा समेत लिइने ‘बुक बिल्डिङ’ विधिमा स्वतन्त्र रूपमा रहेको बजारले नै कम्पनीको मूल्य निर्धारण गर्दछ ।

वास्तविक क्षेत्रका कम्पनीलाई आर्कषण गराउन ‘बुक बिल्डिङ’ प्रणाली आवश्यक रहेको सेयरबजारका जानकारहरु बताउँछन् ।

अहिले पुँजी बजारमा बैँक तथा वित्तीय क्षेत्रको बर्चश्व बढ्दै गएको अवस्थामा यसलाई कम गर्न उत्पादन क्षेत्रका २० औं वर्षदेखि नाफामा रहेका ठूला कम्पनीहरू पनि बुक विल्डिङमार्फत पुँजीबजारमा आएसँगै सर्वसाधारण लगानीकर्ताले पनि लाभ लिन पाउने उनीहरूको बुझाई छ ।

अहिले राष्ट्र बैंक वा बिमा समितिको नीति सामान्य परिवर्तन हुँदा पनि सेयर बजारमा ठूलो प्रभाव पर्ने गरेको छ । यो प्रणालीमार्फत् वास्तविक क्षेत्रका कम्पनीको हिस्सा बढ्दै जाँदा बजारमा त्यसको प्रभाव कम पर्ने लगानीकर्ताको विश्वास छ ।

संगठित संस्थाले धितोपत्र जारी गर्दा धितोपत्रको निष्कासन मूल्यले उक्त संगठित संस्थाप्रति लगानीकर्ताको आकर्षण, विभिन्न क्षेत्रका संगठित संस्थाहरुको प्रवेश, पुँजी परिचालनको अवस्था लगायतका विषयमा महत्वपूर्ण भूमिका खेल्ने हुनाले धितोपत्रको सार्वजनिक निष्कासनको मूल्य निर्धारणलाई अन्तर्राष्ट्रिय रुपमा नै विशेष महत्व दिइएको देखिन्छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २५ ‘ग’ मा ‘बुक बिल्डिङ’बाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धी थप प्रक्रियागत व्यवस्था निर्देशिकामा तोकिएबमोजिम हुने व्यवस्था गर्ने उल्लेख थियो ।

‘बुक बिल्डिङ’ विधिलाई कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्ड सञ्चालक समितिको २०७७ साउनमा बसेको बैठकले निर्देशिका लागु गर्दै वास्तविक क्षेत्रका कम्पनीहरूलाई पुँजी बजारको बाटो खोलिदिएको हो ।

धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रूपमा हुने, निष्कासनकर्ता कम्पनीले आफ्नो धितोपत्रको उचित मूल्य प्राप्त गर्न सक्ने र यसबाट वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित हुने अपेक्षा गरिएएको छ ।

निष्कासनकर्ता कम्पनीमा संस्थागत लगानीकर्ताको स्वामित्व बढ्न गई संस्थागत सुशासन अभिवृद्धिमा सहयोग पुग्ने र ठूला संस्थागत लगानीकर्ताको धितोपत्र मागका आधारमा सर्वसाधारण लगानीकर्तालाई लगानी सम्बन्धी निर्णय लिन सहज हुने बाेर्डकाे अपेक्षा छ ।

‘बुक बिल्डिङ’ कार्यान्वयन भएपछि दोस्रो बजारको सुरूवाती कारोबर मूल्य निर्धारण गर्न सहज हुने र लगानीकर्तालाई लगानी विविधीकरण गर्न सहयोग पुग्नेछ ।

‘बुक बिल्डिङ’मा कस्ता कम्पनी आउँछन् ?

‘बुक बिल्डिङ’ विधिबाट सार्वजनिक निष्कासन गर्नको लागि विगत तीन आर्थिक वर्षदेखि लगातार खुद मुनाफामा रहेको, नेटवर्थ चुक्ता पुँजी (प्रतिसेयर) भन्दा कम्तीमा डेढ गुणा बढी रहेको, कम्तीमा औसत वा सो भन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको, साधारण सभाले ‘बुक विल्डिङ’ विधिमार्फत धितोपत्र जारी गर्ने निर्णय गरेको हुनुपर्ने व्यवस्था छ ।

योग्य संस्थागत लगानीकर्ता

‘बुक बिल्डिङ’ प्रणाली सहभागी हुने योग्य संस्थागत लगानीकर्तामा सूचीकृत संगठित संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र न्यूनतम १० करोड रुपैयाँ नेटवर्थ भएको धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेको लगानी कम्पनी हुने व्यवस्था गरिएको छ ।

हाल ४५ वटा कम्पनीले बोर्डमा आवेदन दिएका छन् भने बोर्डले ती कम्पनीको अध्ययन गरिरहेको छ । ‘बुक विल्डिङ’ विधिबाट धितोपत्र निष्कासन गर्दा ४० प्रतिशत संस्थागत लगानीकर्ता र ६० प्रतिशत सर्वसाधारणलाई छुट्याउनुपर्ने केसीले बताए । यसरी संस्थागतभन्दा बढी सर्वसाधारणलाई सेयर दिनुपर्ने प्रावधान राखिएको देखिन्छ ।

आशय मूल्य तथा मूल्य सीमा निर्धारण

कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन भएकोे पाँच कार्यदिन (कार्यालय खुल्ने, सञ्चालन हुने पाँच दिन) भित्र योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या तथा मूल्यांकनको आधारसहित आशय मूल्य पेश गर्नुपर्ने हुन्छ ।

कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने र सोको अध्ययन गरी धितोपत्रको आधार मूल्य निर्धारण गरिन्छ ।

आधार मूल्यमा २० प्रतिशत थप गर्दा र घटाउँदा कायम हुन आउने मूल्यलाई माथिल्लो सीमा र तल्लो सीमा कायम गरी धितोपत्रको मूल्य सीमा निर्धारण गरिन्छ ।

आशय मूल्य पेश गर्ने योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्य निर्धारित मूल्य सीमाभित्र परेमा वा सोभन्दा बढी भएमा बोलकबोल प्रक्रियामा अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने व्यवस्था गरिएको छ ।

धितोपत्र बोर्डका अनुसार सञ्चालन भएकोे पाँच दिनभित्र योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या तथा मूल्यांकनको आधारसहित आशय मूल्य पेश गर्न सक्नेछन् ।

कम्तीमा १० योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य प्राप्त गर्नुपर्ने र सोको अध्ययन गरी धितोपत्रको आधार मूल्य निर्धारण गर्नुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

आधार मूल्यमा २० प्रतिशत थप गर्दा र घटाउँदा कायम हुन आउने मूल्यलाई माथिल्लो सीमा र तल्लो सीमा कायम गरी धितोपत्रको मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।

आशय मूल्य पेश गर्ने योग्य संस्थागत लगानीकर्ताले पेश गरेको आशय मूल्य निर्धारित मूल्य सीमाभित्र परेमा वा सोभन्दा बढी भएमा बोलकबोल प्रक्रियामा अनिवार्य रुपमा सहभागिता जनाउनुपर्ने व्यवस्था गरिएको छ ।

‘कट अफ’ मूल्य निर्धारण र धितोपत्र बाँडफाँड

‘बुक विल्डिङ’मा जाँदा ‘कट अफ’ मूल्य निर्धारण गर्नुपर्ने हुन्छ ।

निष्कासित सम्पूर्ण धितोपत्र बिक्री हँुदा कायम हुन आउने बोलकबोल मूल्य, ‘कट अफ’ मूल्य र त्यस भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्तालाई माग बमोजिमको धितोपत्र ‘कट अफ’ मूल्यमा धितोपत्र बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘कट अफ’ मूल्यमा आवेदन गर्ने संस्थागत लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने व्यवस्था छ भने ‘कट अफ’ मूल्य भन्दा कम मूल्यमा बोलकबोल गर्ने बोलकबोलकर्तालाई धितोपत्र बाँडफाँट नगरिने र बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सर्वसाधारणलाई धितोपत्र निष्कासन

‘बुक बिल्डिङ’मा गएपछि कम्पनीले ‘कट अफ’ मूल्यमा १० प्रतिशत छुट दिई सर्वसाधारणलाई धितोपत्र निष्कासन गर्नुपर्ने हुन्छ भने निष्कासन गरिने शत प्रतिशत धितोपत्र प्रत्याभूति गराउनुपर्ने हुन्छ ।

योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र बाँडफाँट गरेको सात कार्य दिनभित्र संशोधित विवरणपत्र बोर्डमा स्वीकृतिका लागि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

संशोधित विवरणपत्रमा ‘कट अफ’ मूल्य, धितोपत्र बाँडफाँट भएका योग्य संस्थागत लगानीकर्ताको नामावली, धितोपत्रको संख्या, योग्य संस्थागत लगानीकर्तालाई धितोपत्र जारी गर्दा स्वीकृत भएको विवरणपत्रमा उल्लेखित संगठित संस्थाको प्राविधिक, वित्तीय र व्यवस्थापन पक्षमा कुनै परिवर्तन भएको भए त्यस्तो परिवर्तन भएको विषय उल्लेख गरेको हुनुपर्ने व्यवस्था छ ।

निवेदनको जाँचबुझ गर्दा उपयुक्त देखेमा बोर्डले सात कार्य दिनभित्र विवरणपत्र प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने व्यवस्था छ । बोर्डबाट विवरणपत्र स्वीकृत भएको सात कार्य दिनभित्र आव्हानपत्र प्रकाशन गरिसक्नुपर्ने र आव्हानपत्र प्रकाशन गरेको सात कार्य दिन भित्र धितोपत्रको बिक्री खुला गर्नुपर्ने हुन्छ ।

आवेदन तथा बाँडफाँड
सर्वसाधारणले धितोपत्र खरिदका लागि आवेदन दिने न्यूनतम संख्या ५० कित्ता हुनुपर्ने व्यवस्था गरिएको छ, यसले दस कित्ते भनेर चिनिएको सेयर बजारमा साना लगानीकर्ताका संख्यात्मक उपस्थिति कम गराए पनि बजारलाई प्रभावकारी बनाउने देखिएको छ ।

सर्वसाधारणमा धितोपत्र निष्कासन, आवेदन तथा बाँडफाँट सम्बन्धी अन्य व्यवस्था धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका–२०७३, धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका–२०७४ र धितोपत्रको सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्युतीय सेवा संचालन निर्देशिका–२०७४ बमोजिम हुने जनाइएको छ ।